दफा ४१०
शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउन सक्ने

(१) शेषपछिको बकसपत्र गर्ने व्यक्तिले चाहेमा जुनसुकै बखत सम्बन्धित अधिकारी समक्ष आफैँ उपस्थित भई निवेदन दिई आफूले गरेको शेषपछिको बकसपत्रका शर्त संशोधन वा बकसपत्र रद्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम शेषपछिको बकसपत्र संशोधन वा रद्द गर्दा त्यस्तो व्यक्ति सम्बन्धित अधिकारी समक्ष उपस्थित भई छुट्टै लिखत खडा गरी त्यस्तो शेषपछिको बकसपत्र संशोधन वा रद्द गराउनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम शेषपछिको बकसपत्र रद्द वा संशोधन गर्ने लिखत गराउँदा शेषपछिको बकसपत्र गराउदाँको कार्यविधि अवलम्बन गर्नु पर्नेछ ।
(४) कसैले एकपटक शेषपछिको बकसपत्र गरिदिएको कुनै सम्पत्ति यस दफा बमोजिम शेषपछिको बकसपत्र रद्द नगराई सोही सम्पत्ति अर्को व्यक्तिलाई शेषपछिको बकसपत्र गरी दिन सक्ने छैन ।
(५) उपदफा (४) को प्रतिकूल हुने गरी शेषपछिको बकसपत्र भएकोमा पहिले गरेको शेषपछिको बकसपत्र स्वतः मान्य हुनेछ ।